बृहत्तर एकताका लागि सबै कुरा गर्न तयार छु : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्।
बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आगामी १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।
उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सार्वजनिक अपिल गरे।
‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ, मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ थापाले भने।
सभापति थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित भएको भन्दै तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने बताए।
कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी असोज ३ र ४ गते गर्ने तथा विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।
थापाले पूर्वसभापति देउवालाई सँगै बसेर महाधिवेशन सम्पन्न गर्न आग्रह गर्दै पार्टीको बृहत्तर एकताका लागि आफूले गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताए।
‘म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु– हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन। पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ उनले भने।