१३ देशका लागि राजदूत सिफारिस गर्दै सरकार
वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। लामो समयदेखि रिक्त रहेका नेपाली कूटनीतिक नियोगमा नयाँ राजदूत पठाउने प्रक्रिया अघि बढाउँदै सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्ने निर्णय गरेको हो।
भारत, चीन, अमेरिका, बेलायतलगायत महत्वपूर्ण मुलुकमा लामो समयदेखि राजदूत पद रिक्त रहँदै आएको थियो। सरकारले यसअघि राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनबाट नाम छनोट तथा सर्टलिस्ट गर्ने प्रक्रिया अघि बढाइएको थियो।
उपलब्ध विवरणअनुसार भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम प्रस्तावित भएको छ। यसअघि यी तीन मुलुकका लागि पनि उनीहरूको नाम चर्चामा रहेको थियो।
सरकारले लामो समयसम्म राजदूत नियुक्ति गर्न नसक्दा विभिन्न नेपाली नियोग नेतृत्वविहीन रहेका थिए। राजदूत नियुक्तिको प्रक्रियामा मन्त्रिपरिषद्बाट सिफारिसपछि संसदीय सुनुवाइ हुने र त्यसपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रक्रिया छ।
परराष्ट्र मन्त्रालयले यसअघि राजदूत पदका लागि खुला आवेदन मागेको थियो। स्रोतका अनुसार ४ हजार ४ सयभन्दा बढी आवेदन परेका थिए भने दोहोरिएका तथा अपूर्ण आवेदन हटाएपछि करिब २ हजार ७ सय उम्मेदवार छनोट गरिएको थियो।
राजदूत नियुक्तिको प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक प्रतिनिधित्व थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। राजदूत नियुक्ति भएपछि द्विपक्षीय सम्बन्ध, आर्थिक तथा कूटनीतिक सहकार्य र विदेशमा रहेका नेपालीसँग सम्बन्धित विषयमा नियोगको नेतृत्व प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी रहनेछ।