मनोहरा खोलामा बाढीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास
सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास फैलिएको छ।
बहाव बढेसँगै खोलाको किनारमा रहेका केही टहरामा पानी पसेको छ। पानीको सतह निरन्तर बढेपछि स्थानीयवासी घरबाहिर निस्केर बाढी थप बढ्न सक्ने भन्दै सतर्क अवस्थामा बसेका थिए।
केही महिनाअघि सम्बन्धित महानगरपालिकाले मनोहरा खोलालगायत नदी किनारमा रहेका बस्ती तथा टहरा हटाएको थियो। तर, खोलाको आसपास अझै रहेका संरचनामा पानी पस्न थालेपछि स्थानीयमा चिन्ता बढेको हो।
हाल भने मनोहरा खोलामा पानीको सतह केही घटेको छ। वर्षा पुनः बढेमा खोलाको बहावसमेत बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।