बाढीपीडितको सहयोगका लागि साइकल र्याली
संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्याली आयोजना गरेको छ।
‘बाढी पीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी साइकल प्रेमी सहभागी भएका थिए। इमाडोलबाट सुरु भएको र्याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु र लामाटार हुँदै पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उद्घाटन गरेको र्यालीमा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको सहभागिता थियो। र्यालीको दर्ता शुल्कबाट सङ्कलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ।