भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई पत्रकार महासङ्घले एक–एक लाख दिने
नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई तत्काल राहतस्वरूप जनही रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महासङ्घका अनुसार बाढीमा परी ज्यान गुमाएका नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही रु एक लाख उपलब्ध गराइनेछ।
पत्रकार थामीको आज कुशको शव बनाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।
त्यस्तै, बाढीका कारण परिवार तथा घरबाससमेत गुमाएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई पनि रु एक लाख आर्थिक सहयोग प्रदान गरिने महासङ्घले जनाएको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा अन्य प्रभावित पत्रकार तथा सञ्चारमाध्यमका लागि सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त क्षतिको विवरण र आवश्यकताका आधारमा मापदण्ड तयार गरी सहायता वितरण गरिने उल्लेख छ।