महोत्तरीमा सेफ्टी ट्याङ्कीभित्र शव फेला
महोत्तरीमा एक युवकको शव टुक्राटुक्रा पारिएको अवस्थामा सेफ्टी ट्याङ्कीभित्र फेला परेको छ। बलवा नगरपालिका–७ बनौटास्थित एक घरको पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र भङ्गाहा नगरपालिका–६ का २२ वर्षीय विवेक कुमार सरदारको शव फेला परेको हो।
प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९ पिगौनस्थित दिदीको घरबाट मोटरसाइकलमा घर फर्किने क्रममा बेपत्ता भएका थिए। छोरा हराएपछि उनका बुबा अशोक कुमार वातरले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए।
प्रहरीले खोजतलास गर्ने क्रममा बनौटा निवासी अशोक कुमार ठाकुरको घरपछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र विवेकको शव फेला पारेको हो। शव बीभत्स रूपमा काटिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले घरधनी ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी ५५ वर्षीया श्रीमती रामकली देवी र २२ वर्षीया बुहारी सोनु कुमारी ठाकुरलाई नियन्त्रणमा लिएको छ।
यस्तै, महोत्तरी गाउँपालिका–५ का ३७ वर्षीय सियाराम शर्मालाई पनि पक्राउ गरी घटनाबारे थप अनुसन्धान तथा छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।