जनकपुरका १५ पोखरीमा आजदेखि डोजर चलाइँदै
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र गुठी संस्थानअन्तर्गत रहेका १५ वटा पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना आजदेखि हटाइने भएको छ।
गुठी संस्थानले यसअघि सार्वजनिक सूचना जारी गर्दै १५ वटा पोखरी तथा पोखरी किनारमा भएको अतिक्रमण सात दिनभित्र स्वतःस्फूर्त रूपमा हटाउन निर्देशन दिएको थियो। उक्त समय बिहीबार सकिएसँगै अतिक्रमण हटाउन आजदेखि डोजर परिचालन गर्न लागिएको हो।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिले यसअघि पहिलो चरणमा सात वटा पोखरी तथा पोखरीका डिलमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइसकेको छ।
प्रतिवेदन कार्यान्वयन समितिका सदस्य–सचिव जनक पोखरेलका अनुसार अहिले सुरक्षा समितिको बैठक भइरहेको छ। बैठकपछि पोखरी तथा पोखरीका डिलमा रहेका अतिक्रमित संरचना हटाउन टोली परिचालन गरिनेछ।
उनका अनुसार केही पोखरीमा स्थानीयवासीले आफैँ अतिक्रमित संरचना हटाइसकेका छन्। बाँकी संरचना हटाउन टोली परिचालन गरिने उनले बताए।
बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरलगायत प्रमुख मठ–मन्दिर तथा गुठीको जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी प्रतिवेदन कार्यान्वयन समितिलाई दिइएको छ।
यस्तै, उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२, सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदन र गुठी जग्गासम्बन्धी अन्य प्रतिवेदनमा उल्लेखित कार्यहरू कार्यान्वयन गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ।