कृष्णभिरमा पहिरोपछि वैकल्पिक मार्गबाट ८७ हजार सिलिन्डर ग्यास काठमाडौँ भित्रियो
पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौँमा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ।
नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौँका ग्यास उद्योगका सिलिन्डर तराईका विभिन्न उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर बिक्री वितरण भइरहेको छ।
निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका १६ वटा ग्यास उद्योगमा काठमाडौँका सिलिन्डर रिफिल गरिएको छ।
भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर रिफिल गरी काठमाडौँ भित्र्याइएको निगमले जनाएको छ। तीन दिनमा कुल ८७ हजार ८७७ सिलिन्डर ग्यास काठमाडौँ ल्याइएको हो।
वैकल्पिक व्यवस्थामार्फत श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका ग्यास आपूर्ति गरिएको छ।
कृष्णभिर खण्डको सडक मर्मत सम्पन्न भई नियमित यातायात सञ्चालनमा नआएसम्म वैकल्पिक प्रक्रियाबाटै एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने नेपाल आयल निगमले जनाएको छ।
निगमले सडक अवरोधका कारण उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक माध्यमबाट आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।