खोटाङमा बरामद १ हजार ३१५ किलो गाँजा नष्ट
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले एक महिनाअघि बरामद गरेको १ हजार ३१५ किलोग्राम लागूऔषध गाँजा नष्ट गरेको छ।
गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त गाँजा बरामद गरेको थियो। प्रहरीले बरामद गाँजाको मूल्य करिब २ करोड रुपैयाँ रहेको जनाएको छ।
जङ्गलमा शंकास्पद अवस्थामा रोकिराखिएको ट्रक जाँच गर्ने क्रममा चालक बस्ने भाग र पछाडिको डाला बीचमा फल्स बटम बनाएर लुकाइएको गाँजा फेला परेको थियो। गाँजा प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट बरामद भएको हो।
प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न चालक फरार छन्। चालकको पहिचान नखुलेका कारण गाँजाको वास्तविक धनीसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। ट्रकधनीलाई भने प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
कानुनी प्रक्रिया पूरा गरेपछि बरामद गाँजा जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको प्रहरीले जनाएको छ।