एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले सुनाए कडा नियम
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको भैंसेपाटीस्थित पार्टी प्यालेसमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यसूची तय गरेपछि केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
बैठकअघि अध्यक्ष ओलीले केन्द्रीय सदस्यका लागि बैठकमा पालना गर्नुपर्ने नियम सुनाएका छन् । उनले बैठकमा मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिँदै भोलिदेखि मोबाइल बैठक हल बाहिर राख्ने व्यवस्था गरिने बताए ।
बैठकमा मोबाइल चलाउन, भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत रोक लगाइएको ओलीले बताए । बैठकका क्रममा आफ्नो आसन छाड्दा अध्यक्षको अनुमति लिनुपर्ने र बोल्नुअघि अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति लिनुपर्ने नियमसमेत उनले सुनाए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले व्यहोरेको पराजयपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा सबै केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराइने जनाइएको छ ।