त्रिपुरेश्वरमा बस चालकले आफैंलाई आगो लगाएको आशंका, अस्पतालमा उपचार हुँदै
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले बसभित्रै आगो लगाउँदा घाइते भएका छन् ।
बा.५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले सोमबार आफू बसभित्रै रहेका बेला आगो लगाएका हुन् । आगलागीबाट जलेर घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
लामाले बसमा किन आगो लगाए भन्नेबारे यकिन कारण खुलिसकेको छैन । प्रारम्भिक जानकारीअनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि उनले यस्तो कदम चालेको हुनसक्ने बताइएको छ । यद्यपि घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीले आगजनीको कारण, घटनाको परिस्थिति तथा ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए ।