भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४०९ पुग्यो
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म मृतकको संख्या १ हजार ४०९ पुगेको छ।
प्रहरीका अनुसार रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। त्यस्तै, काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।
फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९४४ गरी कुल ३ हजार २३० वटा डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
पहिचान हुन बाँकी १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ।
यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ३ जनालाई राखिएको प्रहरीले जनाएको छ।