राजविराजको रथ यात्रामा सुनको सिक्री चोरी गरेको आरोपमा एक जना पक्राउ
सप्तरीको राजविराजमा रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोल बस्ने २५ वर्षीय निरज कुमार राय रहेका छन् ।
सप्तरी प्रहरीका अनुसार गत भदौ २० गते कृष्ण जन्माष्टमीका अवसरमा राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रामा सहभागी राजविराज–१ बस्ने ३५ वर्षीय रोकी झाले घाँटीमा लगाएको २६.२४० ग्रामको सुनको सिक्री चोरी भएको थियो ।
उक्त घटनापछि फरार रहेका रायलाई खोजतलास गर्ने क्रममा भदौ २९ गते बारा जिल्लाको बारागढी गाउँपालिका–३ सिपुरा टोलबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई झाको जाहेरीका आधारमा चोरी मुद्दा दर्ता गरिएको छ । सप्तरी जिल्ला अदालतबाट २९ गतेदेखि नै लागुहुने गरी ५ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राजबिराज सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।