उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल नियुक्त
युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन्।
आइतबार बसेको पार्टी सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक रूपमा प्रवेश गराएका हुन्।
अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन्।
कार्यक्रममा पार्टी अध्यक्ष घिसिङले नवप्रवेशी युवाहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दाबी गरे। उनले युवाहरूको अनुभव, क्षमता र दक्षताका आधारमा नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको बताए।
देश निर्माणका लागि जागरुक अन्य युवाहरूसँग पनि आगामी दिनमा सहकार्य गर्न पार्टी तयार रहेको घिसिङको भनाइ थियो। देशमा व्याप्त हरेक क्षेत्रको ‘अँध्यारो’ हटाएर उज्यालो ल्याउन आफूहरूले नेतृत्व लिने उनले दाबी गरे।
‘देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,’ घिसिङले भने, ‘त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन।’
विद्युत् खपत बढाउनुपर्ने अवस्थामा बिजुलीमा भ्याट र कर लगाउने, विद्युतीय गाडीमा कर बढाउने तथा ग्यासका लागि लाइन लाग्नुपर्ने अवस्था सिर्जना गर्ने नीतिले देश विकास नहुने उनको तर्क थियो। उज्यालो नेपाल पार्टीले कुनै वादभन्दा जनतालाई प्रत्यक्ष ‘डेलिभरी’ दिने विषयलाई प्राथमिकतामा राखेको उनले बताए।
नवनियुक्त महासचिव दिवाकर अर्यालले उज्यालो नेपाल पार्टीको नेतृत्वमा विभिन्न क्षेत्रका विज्ञसँगै अनुभवी र खारिएका युवाहरू जोडिएकाले देश विकासका लागि पार्टी उत्तम विकल्प बन्न सक्ने दाबी गरे।