वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो ।
पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
उनका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर एक दिन अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। "हाम्रो विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो," उनले भने।
गत जेठ १२ गते जिल्ला अदालत पर्सा ले लिखत सम्बन्धी कसुर मुद्दामा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।