सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ
सिरहा, १९ जेठ । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २३ वर्षीय जयकुमार साह र १९ वर्षीय सुजल शाह रहेका छन्। उनीहरूलाई आइतबार बेलुका सिरहा नगरपालिका–१५ बुधौराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।