२४ घण्टामा देशभर २४ विपद् घटना, २ जनाको मृत्यु, १५ घाइते
काठमाडौं, ३१ जेठ — पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका २४ वटा विपद् घटनामा परी २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार घटनाबाट करिब ६ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिकामा जंगलमा गाईवस्तु चराउन गएकी १५ वर्षीया बालिकामाथि माथिबाट खसेको ढुंगा लाग्दा ज्यान गएको छ।
यस अवधिमा तेह्रथुम, सिरहा, स्याङ्जा, रोल्पा, दाङ, बाँके, सुर्खेत र कञ्चनपुरमा भएका सर्पदंशका घटनामा ९ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सम्बन्धित अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।
कास्कीको फेवातालमा अचानक आएको हावाहुरी र वर्षाका कारण डुंगा तथा प्याडल बोटमा सवार ४ जना अलपत्र परेका थिए। उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ।
यता सुनसरी, रौतहट र चितवनमा भएका तीनवटा आगलागीका घटनाबाट करिब ६६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। चितवनको भरतपुरस्थित एक विद्युतीय साइकल कम्पनीमा लागेको आगोबाट मात्रै करिब ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ।
इलाममा बाढीका कारण मेची करिडोर सडक अवरुद्ध भएको छ भने धनकुटा र लमजुङमा पहिरो खस्दा सडक यातायात प्रभावित बनेको छ।
जनावरको आक्रमणका घटनामा कास्कीमा कुकुरको टोकाइबाट २ जना र जुम्लामा एक बालिका घाइते भएका छन्। बर्दियामा पाटेबाघको आक्रमणबाट एक किशोरसहित २ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा प्रहरी, स्थानीय तह तथा उद्धार टोली परिचालन गरी आवश्यक उद्धार, राहत तथा प्रतिकार्य कार्य सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ।