वीरेन्द्रनगरका व्यापारीबाट ३ करोड मूल्यको सुन र लाखौं नगद बरामद
कपडा व्यापारको आवरणमा अवैध वित्तीय कारोबार सञ्चालन गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगरका एक व्यापारीबाट झण्डै ३ करोड रुपैयाँ बराबरको सुन तथा नगद बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ मा बसोबास गर्दै आएका ६३ वर्षीय श्यामसुन्दर अग्रवाल (बालाजी) को गोप्य कार्यालयमा छापा मारेर ठूलो परिमाणमा सुन, नगद र अन्य सामग्री बरामद गरिएको जनाएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कवीन्द्रसिंह बोहोरा का अनुसार खानतलासीका क्रममा १८५ थान सुन तथा चाँदीका गहना बरामद भएका छन्। विभिन्न बट्टा र पोकामा राखिएको उक्त सुनचाँदीको अनुमानित बजार मूल्य करिब ३ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अग्रवालको साथबाट २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ समेत बरामद गरेको छ। साथै नगद गन्ती गर्न प्रयोग हुने एक मेसिन पनि फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार अपराह्न करिब ४ बजे वीरेन्द्रनगर नगरपालिका–६, तल्लो बजारस्थित ‘शिव इम्पोरियम’ नामक कपडा पसलमा भारतीय रुपैयाँ र सुनका गहना धितो राखेर अवैध रूपमा ब्याजमा रकम लगानी गर्ने गरेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले खानतलासी गरेको थियो।
अनुसन्धानका क्रममा उक्त पसलसँग सम्बन्धित गोदाम तथा कार्यालयबाट सुन, नगद र वित्तीय कारोबारसँग सम्बन्धित सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अग्रवालमाथि अवैध वित्तीय कारोबार तथा अन्य सम्भावित कसुरबारे थप अनुसन्धान भइरहेको छ। उनको स्थायी ठेगाना नेपालगञ्ज उपमहानगरपालिका–१० रहेको र हाल वीरेन्द्रनगर–६ मा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार अग्रवालले लामो समयदेखि सुन धितो राखेर ऋण प्रवाह गर्ने तथा भारतीय मुद्रा सटहीसँग सम्बन्धित कारोबार सञ्चालन गरेको आशङ्का गरिएको छ। यद्यपि यी विषय अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।