नेपाल–भारत सम्बन्धमा विश्वास र आर्थिक सहकार्यको जोड: रवि लामिछानेको धारणा
काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विश्वास, विकास र आर्थिक साझेदारीमा आधारित बनाउनुपर्ने बताएका छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा मंगलबार प्रकाशित लेखमार्फत उनले सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउनु नहुने भन्दै समाधानका लागि ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीलाई आधार बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गर्दै नेपालले अब आर्थिक रूपान्तरणलाई प्रमुख एजेन्डा बनाउनुपर्ने उल्लेख गरेका छन्।
“हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौं। हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,” उनले लेखमा उल्लेख गरेका छन्।
उनका अनुसार नेपाल–भारत सम्बन्ध केवल भूराजनीतिक विवादमा सीमित नभई विकास र दीर्घकालीन आर्थिक सहकार्यमा केन्द्रित हुनुपर्छ। उनले नेपालमा हालै भएको राजनीतिक परिवर्तनलाई “मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति” को रूपमा व्याख्या गर्दै रास्वपाको उदयलाई नयाँ राजनीतिक यथार्थ भनेका छन्।
लामिछानेले नेपाल र भारतलाई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदारका रूपमा उल्लेख गर्दै रामायण, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगयाजस्ता धार्मिक–सांस्कृतिक सम्बन्धले दुई देशबीचको ऐतिहासिक एकता झल्काउने बताएका छन्।
उनले दुई देशबीच पूर्वाधार र आर्थिक सहकार्यलाई विस्तार गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। रक्सौल–काठमाडौं १५० किलोमिटर रेलमार्ग निर्माण, पोखरा र लुम्बिनीबाट भारतीय प्रमुख सहरहरूमा सिधा हवाई उडान, तथा काठमाडौं–बेंगलुरु डिजिटल करिडोर जस्ता परियोजनाले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उनको धारणा छ।
त्यस्तै, भारतका आईआईटी र एम्सजस्ता संस्थाहरूसँग सहकार्य गरेर नेपालमा शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा साझेदारी गर्नुपर्ने, प्रविधि र स्टार्टअप इकोसिस्टम विकास गर्न डिजिटल प्रयोगशाला तथा इन्क्युबेसन सेन्टर स्थापना गर्नुपर्ने सुझाव उनले दिएका छन्।
नेपालको जलविद्युत् सम्भावनालाई भारतको औद्योगिक विकाससँग जोड्दै एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्ने, सीमा नाकामा आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) स्थापना गर्नुपर्ने तथा धार्मिक पर्यटन सर्किटमार्फत जनकपुर, लुम्बिनी र बोधगयालाई जोड्नुपर्ने उनको प्रस्ताव छ।
लामिछानेले यी पहलहरूले नेपाल–भारत सम्बन्धलाई विश्वास, विकास र साझेदारीको नयाँ चरणमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।