नेतृत्व परिवर्तनबारे बहस ‘बेमौसमी’ भन्दै एमाले अध्यक्ष ओलीको निर्देशन
काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी बहसलाई ‘बेमौसमी’ भन्दै त्यस्ता छलफलमा नलाग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेशस्तरीय सुझाव संकलन बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरे।
उनले भने, “नेतृत्व परिवर्तनको बेमौसमी बहस सुरु गरेर पार्टी कमजोर बनाउने खेलमा कोही पनि लाग्नु हुँदैन, पार्टीलाई एकताबद्ध बनाउन सबै लाग्नुपर्छ। समय आएपछि नेतृत्वको बहस गरौँला।”
बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरू सहभागी थिए।
ओलीले सुझाव संकलनका लागि प्रदेशमा खटिएका नेताहरूलाई स्थानीय यथार्थ बुझेर रिपोर्ट तयार गर्न निर्देशन दिँदै एकपक्षीय निष्कर्षमा नपुग्न पनि आग्रह गरे।
एमालेले पछिल्लो समय प्रदेशस्तरमा सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। सो क्रममा पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मागसमेत उठ्दै आएको छ।