पश्चिम बंगालमा मतगणना जारी: प्रारम्भिक रुझानमा भाजपा अगाडि, टीएमसी पछि
भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी छ। पश्चिम बंगालको प्रारम्भिक रुझानमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) भन्दा भारतीय जनता पार्टी (भाजपा) अगाडि देखिएको छ।
डेटानेटका अनुसार २९४ सिटमध्ये भाजपा १९३ सिटमा र टीएमसी ९५ सिटमा अग्रस्थानमा रहेको देखिन्छ। बहुमतका लागि १४८ सिट आवश्यक पर्ने भएकाले प्रारम्भिक रुझानमै भाजपा बहुमतको आँकडाभन्दा माथि पुगेको संकेत गरिएको छ।
यदि यी रुझान अन्तिम परिणाममा पनि कायम रहे, पश्चिम बंगालमा टीएमसीको दीर्घकालीन शासन अन्त्य हुने र भाजपा पहिलो पटक सरकार गठन गर्ने ऐतिहासिक अवस्था बन्नेछ।
टीएमसीले हार व्यहोरेमा यो सन् २०११ यता राज्य राजनीतिमा ठूलो मोड हुने बताइएको छ। ममता बनर्जी विगत १५ वर्षदेखि पश्चिम बंगालको मुख्यमन्त्री रहँदै आएकी छन्।
चुनावअघि सार्वजनिक अधिकांश एक्जिट पोलहरूले टीएमसी र भाजपाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका थिए। तर प्रारम्भिक मतगणनाले भाजपा स्पष्ट रूपमा अघि बढिरहेको देखिएको छ।
पश्चिम बंगालमा लामो समयदेखि एकतर्फी बहुमतसहित सरकार बन्ने राजनीतिक परम्परा रहँदै आएको छ। यस पटकको चुनावमा उच्च मतदान दरले पनि विशेष ध्यान खिचेको छ।
दुवै चरणमा गरी कुल ९२.४७ प्रतिशत मतदान भएको छ, जुन स्वतन्त्रता पछिकै सबैभन्दा उच्च हो। सन् २०११ मा रहेको ८४.७२ प्रतिशत मतदानको रेकर्ड समेत यस पटक तोडिएको छ।
शहरी र ग्रामीण दुवै क्षेत्रमा अत्यधिक मतदान हुनु यस चुनावको प्रमुख विशेषता बनेको छ। विश्लेषकहरूका अनुसार, उच्च मतदानले मतदाताको गहिरो राजनीतिक सहभागिता झल्काएको छ भने परिणामले राज्यको राजनीतिक दिशामा ठूलो परिवर्तन ल्याउन सक्ने संकेत देखिएको छ।