अश्लील तस्बिर सार्वजनिक गरेको आरोपमा दुईजना पक्राउ
बैतडीमा प्रहरीले अश्लील तस्बिर सार्वजनिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिकाकी एक महिलाको अश्लील तस्बिर र भिडियो सार्वजनिक गरेको आरोपमा एक जना महिला र एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पञ्चेश्वर–५ गिरेगडाका अन्दाजी २२ वर्षीय सुनिल चन्द र एक जना महिला पक्राउ गरी अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
पञ्चेश्वरकै एक महिलाले आफ्नो अश्लील तस्बिर र भिडीयो यी दुई जनाले एक आपसमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको भन्दै इलाका प्रहरी मेलौलीमा निवेदन दिएपछि ती महिला र युवकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए ।
ईलाका प्रहरी कार्यालय मेलौलीबाट प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्दको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता सिंहले जनाकारी दिए ।