पोखरामा सुकुम्वासीको प्रदर्शन: ‘डोजर आतंक बन्द गर’ माग
काठमाडौंका विभिन्न स्थानमा सुकुम्वासी बस्तीहरूमा डोजर चलाइएपछि त्यसको प्रभाव पोखरासम्म पुगेको छ। काठमाडौंबाट सुरु भएको कारबाहीपछि आफूहरू पनि प्रभावित हुने डरले पोखराका सुकुम्वासीहरू सडकमा उत्रिएका छन्।
‘डोजर आतंक बन्द गर’ भन्ने नारासहित उनीहरूले आज पोखराका मुख्य सडकहरूमा प्रदर्शन गरेका हुन्। उनीहरूको प्रदर्शनमा ठूलो संख्यामा सुकुम्वासी बस्तीका बासिन्दा सहभागी थिए।
पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको छ। महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सूचना जारी गरिएको हो।
महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्वासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थाबिना स्थान खाली नगर्ने अडान लिएका छन्। उनीहरूले पहिले उचित पुनर्वासको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
यसैबीच, आफ्ना माग सम्बोधनको लागि सुकुम्वासीहरूले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। त्यसअघि उनीहरूले पृथ्वीचोक क्षेत्रमा र्याली निकाल्दै कोणसभा पनि गरेका थिए।