नर्गिस मोहम्मदी अस्पताल भर्ना, स्वास्थ्य अवस्था गम्भीर
तेहरान, १९ बैशाख — इरानकी नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको उनका समर्थकहरूले जनाएका छन्।
समर्थकहरूका अनुसार उनी केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिइन्। मार्चको अन्त्यतिर उनलाई शंकास्पद हृदयघात भएको र आवश्यक उपचार गरिएको बताइएको छ। हाल गम्भीर हृदयसम्बन्धी समस्याका कारण उनलाई इरानको जन्जानस्थित अस्पतालमा भर्ना गरिएको फाउन्डेसनले जनाएको छ।
उनका समर्थकहरूले महिनौँदेखि उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गर्दै आएका थिए। उनका वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा लेख्दै, सुरुमा रक्तचापमा समस्या आएपछि उनी बेहोस भएको र चिकित्सकहरूले तत्काल अस्पताल भर्ना गर्न अस्वीकार गरेको दाबी गरेका छन्।
न्यूरोलोजिस्टको सुझावअनुसार उनको हृदयसम्बन्धी गम्भीर अवस्थालाई तत्काल सम्बोधन गर्नु अहिलेको प्राथमिकता भएको बताइएको छ।
नर्गिस मोहम्मदीलाई इरानमा महिलामाथिको अनिवार्य ड्रेस कोड र मृत्युदण्डविरुद्ध अभियान चलाएको आरोपमा पटक–पटक मुद्दा चलाइ जेल सजाय समेत दिइएको थियो। उनी सन् २०२३ मा मानव अधिकारसम्बन्धी लामो संघर्षका आधारमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्।