काठमाडौंमा अवैध संरचना हटाउने अभियान तीव्र, तिलगङ्गामा घरटहरा भत्काउन सुरु
काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियान तीव्र बनाएको छ। महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउन आज साँझ ६ बजेदेखि कार्य सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिएका छन्।
उनका अनुसार सरकारी जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानअन्तर्गत तिलगङ्गा क्षेत्रका घरटहरा हटाइँदै छन्।
यसअघि पनि स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको महानगर प्रहरीले जनाएको छ। त्यस्तै, शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाइएको थियो।
हालसम्म काठमाडौँ उपत्यकाभित्र सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइसकिएको महानगरपालिकाले जनाएको छ।