पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई हराउँदै ग्लोबल छनोटमा पहिलो जित
काठमाडौँ — पूजा महतोको अर्धशतकको मद्दतमा नेपालले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गर्यो।
जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालको जितमा पूजा महतोले सर्वाधिक ५२ रन बनाइन्। उनले ५० बलमा चार चौका र दुई छक्कासहित अर्धशतकीय इनिङ खेलिन्। कप्तान इन्दु वर्माले २२ रनको योगदान दिँदा विन्दु रावलले १५ र सीता रानामगरले ११ रन जोडिन्।
जिम्बाब्वेतर्फबाट जोसेफाइन एनकोमोले दुई विकेट लिइन् भने नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक–एक विकेट हात पारे।
यो जितसँगै नेपालले प्रतियोगितामा आत्मविश्वाससमेत बढाएको छ।