एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा
नेपालमा विदेशी लगानीका लागि सहज वातावरण नरहेको र कम्पनी सञ्चालनमा विभिन्न कानुनी तथा नियामकीय चुनौती बढ्दै गएको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्।
फोलेले नियुक्ति पाएको एक वर्ष पनि नपुग्दै एनसेलबाट बाहिरिने निर्णय गरेका हुन्। स्रोतका अनुसार एनसेलको लगानी, २५ वर्षे अनुमतिपत्रसम्बन्धी विवाद, नियामकीय जटिलता तथा परिवारको दबाबलगायतका कारण उनले राजीनामा दिएका हुन्।
फोलेले भाद्र ९ गते दिएको राजीनामा स्वीकृत भइसकेको छ। नयाँ सीईओ नियुक्त नभएसम्म एनसेलका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठले अन्तरिम व्यवस्थाअन्तर्गत ‘लिमिट्स अफ अथोरिटी’ लिएर सीईओको जिम्मेवारी सम्हालेका छन्।
नेपालमा एनसेलका बोर्ड पदाधिकारीदेखि विदेशी लगानीकर्तासमेत विभिन्न मुद्दामामिलामा तानिन थालेको विषयले फोलेको मनोबलमा समेत असर गरेको स्रोतको दाबी छ। नेपालमा काम गर्न सहज वातावरण नरहेको निष्कर्षमा पुगेपछि उनले कम्पनी छाड्ने निर्णय गरेको बताइएको छ।
फोलेले एनसेलमार्फत उच्चगतिको फाइभजी सेवा विस्तार, घरघरमा फाइबरमार्फत इन्टरनेट सेवा पुर्याउने तथा डेटा सेन्टरलगायतका क्षेत्रमा ठूलो लगानी गर्ने योजना अघि सारेका थिए। सरकारले आवश्यक सहजीकरण गरे एनसेलले नेपालमा करिब २५ करोड अमेरिकी डलर थप लगानी गर्ने प्रतिबद्धता उनले सार्वजनिक रूपमै व्यक्त गरेका थिए।
तर, एनसेलको २५ वर्षे अनुमतिपत्रसम्बन्धी व्यवस्था विदेशी लगानीका लागि लगानीमैत्री नभएको र सरकारका कतिपय निर्णय कानुनसम्मत नभएको धारणा फोलेले राख्दै आएका थिए। उनको कार्यकालमै एनसेलले तत्कालीन सरकारका साथै काठमाडौं महानगरपालिकासँग सम्बन्धित निर्णय तथा एनसेलको सम्पत्ति सरकारको स्वामित्वमा जाने विषयमा समेत पुनरावलोकनको माग गरेको थियो।