महिला टी-२० विश्वकप छनोटअघिको वाम अप खेलमा अमेरिकासँग नेपाल पराजित
महिला टी-२० विश्वकप छनोट वामप म्याचमा अमेरिकासँग नेपाल पराजित भएको छ। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालमाथि अमेरिकाले ६ विकेटको जित निकाल्यो। यसअघि नेपालले आयरल्यान्डसँगको वाम अप खेलमा पनि ९९ रनको हार ब्यहोरेको थियो।
अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन बनायो। नेपालका लागि विन्दु रावलले २७ रन, सोनु खड्काले २४ रन, कविता जोशीले २० रन, रोमा थापाले १९ रन र पूजा महतोले १७ रनको योगदान दिइन्।
बलिङमा अमेरिकाकि ताराणुम चोपडाले ३ विकेट लिएकी थिइन् भने सैनवी कम्बलापल्लीले २ विकेट हात पारिन्। जवाफमा लक्ष्य पछ्याउने क्रममा अमेरिका महिलाले १९.१ ओभरमा १३८ रन बनाएर ६ विकेटले जित हासिल गर्यो। अमेरिकाकी चेतना रेड्डीले अविजित ५६ रन (४६ बलमा ६ चौका) को उत्कृष्ट इनिङ खेलिन्।
यसबाहेक इसानी वाघेलाले २० र ऋतु सिंहले अविजित १९ रन बनाइन्। नेपालबाट सोमु बिस्ट, रिया शर्मा र रुविना क्षेत्रीले समान १-१ विकेट लिए।
नेपालका दुई मैदानमा माघ ४ देखि हुने विश्वकपमा छनोटका लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ। इन्दू बर्माको कप्तानी रहेको नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ।
टी-२० विश्वकपको विश्व छनोटका खेल नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछन्। खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ।
समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। छनोटमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।