एनपीएलको फाइनल आज : सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि आमनेसामने
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ। लिग चरणका २८ तथा प्लेअफका तीन खेलपछि उपाधि विजेता तय गर्ने निर्णायक खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।
सुदूरपश्चिम रोयल्सले प्रतियोगिताभर स्थिर र सशक्त प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको छ। लिग चरणमा लगातार पाँच जितसहित प्लेअफमा पुगेको सुदूरपश्चिम केवल एक खेलमा पराजित भयो। अन्तिम लिग खेलमा विराटनगर किङ्ससँग हार व्यहोरे पनि पहिलो क्वालिफायरमा सोही टोलीलाई ७७ रनले पराजित गर्दै सिधै फाइनलमा स्थान बनायो। गत संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ।
कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिमको टोली ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सन्तुलित देखिएको छ। विनोद भण्डारीले ८ खेलमा सर्वाधिक २६४ रन बनाएका छन् भने आरिफ शेख, ऐरी, इशान पाण्डे र हरमित सिंहले पनि महत्वपूर्ण योगदान दिएका छन्। बलिङमा अविनाश बोहराले १६ विकेटसहित प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिएका छन्। हरमित सिंह, स्कट कुगेलाइन र कप्तान ऐरीले पनि नियमित रूपमा विकेट लिँदै टोलीलाई मजबुत बनाएका छन्।
अर्कोतर्फ, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले यस संस्करणमा प्रभावशाली पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको छ। गत संस्करणमा लिग चरणमै बाहिरिएको लुम्बिनी यसपटक सुरुवाती उतारचढावपछि अन्तिम खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा प्रवेश गर्यो। इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराएको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ९ खेलमा २६० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन्। डार्शी शर्ट र निरोशन डिक्वेलाले पनि ब्याटिङमा योगदान दिएका छन्। बलिङमा शेर मल्ल र रुबेन ट्रम्पलमनले लगातार विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राखेका छन्। कप्तान रोहितले समेत ७ विकेट लिएर टोलीलाई सन्तुलन दिएका छन्।
यसरी, स्थिर प्रदर्शन र बलियो समग्र टोली क्षमतासहित सुदूरपश्चिम रोयल्स र उतारचढावपछि सशक्त पुनरागमन गरेको लुम्बिनी लायन्सबीचको फाइनल भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। आज यी दुईमध्ये एक टोलीले पहिलो पटक एनपीएलको उपाधि उचाल्नेछ। प्रतियोगिताको विजेताले १ करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रोले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।