नयाँ सत्ता समीकरणका लागि सहमति पत्रमा कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीले गरे हस्ताक्षर, पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि सोमबार मध्यराति हस्ताक्षर भएको छ ।
ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्माले हस्ताक्षर गरेका हुन् । दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि अध्यक्ष ओली बालकोटबाट शीतल निवास पुग्नुभएको छ । बिरामी रहेका भनिएका कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवासमा प्रवेश गर्नुभएको हो । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका नेता पनि राखेर राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।
दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण मंगलबार मात्रै सार्वजनिक गरिने भएको छ । नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसका एक नेताले ‘दुई दल मिलेर सरकार बनाउन देउवा र ओलीले सहमति पत्रमा हस्ताक्षर गरेको बताएका छन् । बाँकी काम मंगलबार हुने ती नेताको भनाइ थियो ।
दुई दलबीच एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमति भइसकेको उनले बताएका हुन् । अब राष्ट्रपति पौडेलसँग आवश्यक परामर्श सकेर नयाँ सरकार गठनको टुंगो गरिने भएको छ । यी दुई दलले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्ने गरी रणनीति बनाएका हुन् ।
कांग्रेसका सभापति देउवाले सोमबार दिउँसो बुढानीलकण्ठमै पदाधिकारी बैठक राख्नुभएको हो । उता अध्यक्ष ओलीले एमालेका केही पदाधिकारीसँग बालकोटमै छलपफल गर्नुभएको थियो । यसैबीचमा सहमतिका लागि कांग्रेसबाट रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए । उता एमालेबाट भने शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडालसहित नेता खटिएका हुन् ।
अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारको समर्थन फिर्ता लिंदा विश्वासको मत लिन एक महिना समय पाउने भएकाले बहुमत सदस्यको हस्ताक्षर गरेर सरकार गठनका लागि मंगलबार नै राष्ट्रपतिसमक्ष दावी पेश गर्ने तयारी गरिएको छ । योसँगै एमाले अध्यक्ष ओलीले मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनको बारेमा जानकारी गराउनु हुने भएको हो ।