प्रतिनिधि सभाको बैठकमा आज अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पेश गर्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार बिहान पनि बस्ने भएको छ ।
सोही बैठक बिहीबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । बिहीबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, मन्त्री बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने भएको हो ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० तथा ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुहुने भएको छ ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको हो ।
त्यस्तै, ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८०’ पारित गरियोस भनेर प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।