मिडिया काउन्सिल विधेयक छिटो संसदबाट पारित गर्नुपर्छ: मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक संसदबाट छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ।
परिवर्तित मिडिया क्षेत्रलाई नियमन गर्न, प्रवर्द्धन गर्न र त्यसको उचित व्यवस्थापन गर्न पनि संघीय संसदले छिटो भन्दा छिटो पारित गरेर सोही अनुसार कानून निर्माण गरी कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने उहाँले बताउनुभएको हो ।
आइतबार राष्ट्रियसभा बैठकमा सोही विधेयकको सैद्धान्तिक पक्षको बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले नेपालको संविधान र राष्ट्रिय आम सञ्चार नीति कार्यान्वयनमा ल्याउनका लागि पनि सरकारले यस विधेयकलाई छिटो कानूनी रुप दिन चाहेको स्पष्ट पार्नुभयो ।
उहाँले सो विधेयकमा स्वनियमनको माध्यमबाट मिडियाहरुको व्यवस्थापनमा विशेष ध्यान दिने व्यवस्था गरिएको पनि बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिने कुरामा पनि सचेत रहेर सरकारले सो विधेयक ल्याएको उहाँले स्पष्टीकरण दिनुभयो ।
पत्रकारहरुको पेशागत मर्यादामा आँच आउन नदिन सचेत रहेको दावी समेत मन्त्री शर्माले गर्नुभएको छ ।