माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताउनुभएको हो । प्राविधिक समस्या आएन भने बुधबार दिउँसो ४ बजेभित्र नतिजा सार्वजनिक गर्ने उहाँले बताउनुभएको छ ।
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक-फरक रूपमा गर्ने व्यवस्था गरेको हो । विद्यार्थीले सैद्धान्तिकतर्फ प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ ।
आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने भएको हो । विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुने भएको छ । ग्रेड वृद्धि परीक्षा नदिकन विद्यार्थीले कक्षा ११ मा पढ्न पाउने छैनन् ।
दुई भन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।