बागमतीसहित ४ प्रदेशमा आज मेघगर्जन/चट्यांग र मध्यम वर्षाको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु-पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर-प्रदेशदेखि पश्चिम-बांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
शनिबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। त्यस्तै, कोशी प्रदेश केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
शनिबार दिउँसो भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी, बागमती प्रदेश र बाँकी पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्यांसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
शनिबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी, मधेश, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।