राष्ट्रिय सभाको बैठक पनि आज बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो बस्ने भएको छ ।
सोही बैठक आइतबार दिउँसो सवाँ १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसपछि ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने भएको हो । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यता, विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।