सांसद सुहाङले संसदको रोष्ट्रममा उभिएर पहिलो सम्बोधनमा भाबुक हुँदै स्वर्गीय पिता सुवासचन्द्र, सहिद र मतदातालाई यसरी सम्झिए ...
काठमाडौं । इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले संसदको रोष्ट्रममा उभिएर मंगलबार पहिलो पटक सदनलाई सम्बोधन गर्नुभएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तावित बजेटको छलफलमा भाग लिने क्रममा प्रतिनिधि सभाको रोष्ट्रमममा पुगेर सांसद नेम्वाङले सहिदहरू, मतदाता र आफ्ना स्वर्गीय पितालाई सम्झिएर बजेटको बारेमा संक्षिप्त धारणा राख्नुभएको हो ।
प्रारम्भमा उहाँले रत्न वान्तवा, बम वान्तवा लगायत सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। उहाँले आफूलाई निर्वाचित गरेर पठाउने इलाम, देउमाई, चुलाचुली, थापकथुम, माङसेबुङ र माईका जनसमुदायप्रति आभार प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभयो,-'गत वर्षको भदौ महिनाको २६ गतेको अप्रिय घटनापश्चात गत वैशाख १५ गतेको उपनिर्वाचनबाट पहिलो पटक संसद प्रवेश गरेर यहाँ बोलिरहेको छु । मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ। बुबालाई सम्झेर भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्न चाहन्छु । स्वर्गीय पिता सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिंदै सुहाङले सदनमा प्रतिबद्धता जनाउनुभएको छ, ‘बुबा लोकतन्त्रका हिमायती हुनुहुन्थ्यो। विचारको विविधता, बहुदलीय प्रतिस्पर्धा र स्वस्थ बहसलाई सम्मान गर्नुहुन्थ्यो। एकबद्ध भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित हुनुहुन्थ्यो । सबै भाषा-भाषी, जातजाति, धर्म संस्कृतिहरूको सह-अस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो। म उहाँले देखाएको यही मार्गदर्शनलाई शिरमा राखेर काम गर्ने संकल्प गर्दछु।’
सांसद नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली, गठबन्धनका नेताहरूलाई पनि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो,-‘मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने अध्यक्ष ओलीप्रति आभार व्यक्त गर्छु। गठबन्धन दलप्रति धन्यवाद छ ।’
बजेटको सन्दर्भमा अग्रजले राखेका कुरालाई समर्थन गर्दै उहाँले अर्थमन्त्रीले यथार्थलाई टेकेर बजेट ल्याउने प्रयास गरेको बताउनुभयो। उहाँले भन्नुभयो,-‘हरेक विषयको बलियो र कमजोर पक्ष हुन्छ। उज्यालो सँगसँगै छाया पनि हुन्छ। उज्यालो पाटोलाई बोकेर छुटेकालाई सुधार गर्नतर्फ बहस र सुझाव केन्द्रित गर्नुपर्छ ।’
जनताको आशा सम्बोधनका लागि बजेट पर्याप्तताको ठूलो प्रश्न रहेको पनि उहाँले बताउनुभएको छ । विकासको बाधक, कार्यान्वयनमा समस्या, विकास र समृद्धिको बाटोमा आएका अवरोध पन्छाएर बजेट कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्नेमा सांसद नेम्वाङले जोड दिनुभयो।