विश्व वातावरण दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । विश्व वातावरण दिवसलाई बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखमा सोही दिवस मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
यस वर्ष वातावरण दिवसको नारा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने रहेको छ । दिवसका अवसरमा देशका विभिन्न ठाउँमा सरकार लगायत विभिन्न संघसंस्थाले वृक्षारोपण गर्दैछन् । दिवसको अवसरमा जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्या र तिनका समाधानमा विषयमा विभिन्न कार्यक्रमहरु पनि हुने भएका हुन् ।
नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।