वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको अवसरमा बुधबार मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले विश्व वातावरण दिवस, २०२४ को अवसरमा बुधबार जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको हो ।
वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको जारी शुभकामना सन्देशमा भनिएको छ ।
मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको उहाँले बताउनुभएको हो । त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
विज्ञानको नवीनतम विकासको उदाहरणस्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित, अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको र विकास तथा वातावरण एकापसका प्रतिद्वन्द्वी नभई परिपूरक भएको राष्ट्रपति पौडेलले बताउनुभयो ।
दिगो विकासको अवधारणाबमोजिम नै सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्बोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको उहाँको भनाइ छ ।
वातावरणको संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालयहरू, प्रदेश तथा स्थानीय निकायहरू, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई राष्ट्रपति पौडेलले धन्यवाद समेत दिनुभएको हो ।
आजको दिन सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनको रूपमा लिएको राष्ट्रपति पौडेलले जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।