देशका ५ प्रदेशमा आज पनि मेघगर्जन/चट्यांगसहित मध्यम वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु-पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर-प्रदेशदेखि पश्चिम- बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
आइतबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको हो। कोशी र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको हो। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको हो । त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
आइतबार राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी, मधेश,बागमती प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।