आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा मंगलबार राति आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो । टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो । १ सय ७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९ रन बनाएको हो।
नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले अविजित सर्वाधिक ५४ रन जोडेका छन् । विक्रमजीत सिंहले २२, साइब्राण्ड ई.ले १४ र बास डी लीडीले अविजित ११ रन बनाएका हुन् । त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ५ चौकासहित ३७ बलमा ३५ रन जोडेका थिए।
करन केसीले २ छक्कासहित १२ बलमा १७ रन जोड्दा गुल्शन झाले १५ बलमा १ छक्कासहित १४ रन जोडेका हुन् । अनिल साहले ११ रन जोड्दा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिएका छन् । १३औं ओभरको पहिलो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका ननस्ट्राइक ब्याट्सम्यान साइब्राण्ड ई.लाई रनआउट गरेका थिए ।