एकीकृत समाजवादीले आज दिउँसो पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
आइतबार मध्याह्न साढे १२ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्केटमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको हो । उहाँले पत्रकार सम्मेलनमा पार्टीको आगामी १० औं राष्ट्रिय महाधिवेसनको तयारी र समसामयिक राजनीतिक विषयका सन्दर्भमा उठेका प्रश्नहरुको बारेमा जानकारी दिइने बताउनुभयो ।
केही दिनअघि पार्टी अध्यक्ष माधव कुमार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएपछि पार्टी तथा सत्तारुढ दलमा असन्तुष्टि बढेको छ ।
सोही विषयमा सकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्ता घटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपालसँग एकीकृत समाजवादीको धारणाको बारेमा छलफल गरेका थिए ।
एकीकृत समाजवादीले मधेश प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० नेपाललाई सघाउने संकेत देखिएपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले अध्यक्ष नेपालसँग धारणा मागेका हुन् । सम्भवतः यो विषयमा आइतबार एकीकृत समाजवादीले आफ्नो धारणा सार्वजनिक गर्न सक्नेछ ।
एकीकृत समाजवादीमा अध्यक्ष नेपाल सत्ता घटक दलसँग सन्तुष्ट हुनुभएको छैनन् । सम्मानित नेता झलनाथ खनाल सत्ता समीकरणलाई निरन्तरता दिनुपर्ने पक्षमा रहनुभएको हो । अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाको निवासमा गएको भोलिपल्टै सम्मनित नेता खनाल प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार जानुभएको थियो ।