१७औं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरी देशभर भब्य रूपमा मनाइँदै
काठमाडौं । १७औं गणतन्त्र दिवस मंगलबार देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
मंगलबार सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी १७औं गणतन्त्र दिवस मनाइने भएको हो । २०६५ साल जेठ १५ गते संविधान सभाबाट नेपालमा निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १६ वर्ष पूरा भएको छ ।
२०६२/०६३ सालको आन्दोलनपछि निर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो । त्यस यताका १५ वर्षमा मुलुकमा नयाँ संविधान निर्माण, २ पटक संघीय र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
सिंहदरबारमा सीमित राज्य सत्ताको विकेन्द्रीकरण गरिएको हो। केन्द्रदेखि स्थानीय तहसम्म जनताका प्रतिनिधिहरुले अहिले शासन गरेका छन् । एकात्मक राज्य व्यवस्थाको स्थानमा संघीय र राजतन्त्रको स्थानमा जनताका प्रतिनिधि मुख्य हुने गणतन्त्र स्थापित गरिएको हो ।
तर, जनताले जुन आकांक्षा, अपेक्षा गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए व्यवहारमा भने त्यस्तो देखिएको छैन । आममानिसको जनजीविकाको सवालमा पनि राज्यले अझै धेरै काम गर्न बाँकी नै रहेको छ ।
सोही दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको हो । यस वर्ष जेठ १४, १५ र १६ गते ३ दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावली लगायतका कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने सरकारले निर्णय गरेको छ ।
२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत ७ दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।
२०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट ३ ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति २ ध्रुवमा आएपछि आन्दोलनले गति लिएको थियो । २०६२ साल फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।