विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अघिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको छ।
सोमबार राति अमेरिकाको डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर शुरुमा क्यानाडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको हो। क्यानाडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रन बनाएर अलआउट भएको छ ।
नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्दै २ चौका र २ छक्काको मदतमा सर्वाधिक ३७ रन बनाएका हुन्। २ चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाएका छन् । कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
कप्तान रोहित पौडेल ३ बलको सामना गर्दै १ रन बनाएर आउट हुँदा सन्दीप जोराले १० बलको सामना गर्दै ६ रन बनाएका हुन्। गुल्शन झा ४ बलको सामना गर्दै शून्यमा आउट हुँदा सोमपाल कामीले ४ रन जोडेका थिए । करण केसी र सागर ढकालले समान ५–५ रन बनाउँदा अविनाश बोहोरा एक बलको सामना गर्दै शून्यमा आउट भएका छन् ।
नेपालविरुद्ध घातक बलिङ गरेका क्यानाडाका लागि डिलन हेलिगरले ४ विकेट लिएका थिए। उनको घातक बलिङमा नेपालको ब्याटिङ लाइन कमजोर बनेको थियो। साद बिन जाफर र जेरेमी गोर्डनले समान २-२ विकेट लिंदा कलिम साना र परगत सिंहले एक-एक विकेट लिएका हुन्।
यसअघि क्यानाडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गरेका थिए। उनले ३९ बलमा ५२ रन बनाएका हुन्। रवीन्द्रपाल सिंह ४१, नवनित धालिवालले ३२ रन बनाउँदा डिलन हेलिगर र परगत सिंहले समान १३-१३ रन बनाएका थिए। क्यानाडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको हो।
नेपालका लागि अविनाश बोहराले २ विकेट लिंदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एक-एक विकेट हात पारेका थिए।