कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको उपाध्यक्ष शाक्यको दावी
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको बताउनुभएको छ ।
एमालेको महिला राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विभिन्न समयमा कम्युनिस्ट पार्टीले महिलाको मुद्दालाई अगाडि ल्याएकोसमेत उहाँले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो,-‘कम्युनिस्ट पार्टी स्थापनाबाट नै महिलालाई अगाडि बढाएको छ । मोतिदेबिलाई २००६ सालमा नै पार्टी स्थापनामा समेटिएको थियो । त्यहाँबाट नै महिला सहभागी शुरु भएको छ। ३७ सालमा अपानी ८ मा महिला सहभागिता उल्लेख गरेको छ । ३७ सालमा नै ७ सदस्य अखिल नेपाल महिला संघ स्थापना गरेको छ । ४९ सालमा एमालेको पाचौं महाधिवेशनमा पनि कमिटीमा पनि महिलाको विषय समेटिएको छ ।’
पैत्रिक सम्पत्तिमा महिलाको हक लाग्ने विषय एमाले उठाएको बताउदै उहाँले ४९ सालमा ३३ प्रतिशत महिला सहभागी पुर्याउँदै जाने उल्लेख गरेको बताउनुभएको छ । २०६२ सालमा पार्टी केन्द्रीय कमिटी बैठकमा पनि पार्टीले विभिन्न मुद्दा अगाडि सारेको र अन्य पार्टीले पनि त्यसलाई अंगीकार गरेको उहाँको भनाइ थियो ।
महिलालाई समानुपातिक हैन प्रत्यक्ष नै सहभागी गराउन नेतृत्व तयार हुनुपर्ने पनि उहाँले बताउनुभयो । जससका लागि पार्टीले छलफल चलाउनुपर्ने उहाँको तर्क छ । राजनीतिकमा प्रशिक्षणको जरुरी रहेको पनि उपाध्यक्ष शाक्यले बताउनुभयो ।