मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति
काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बिहीबार बसेको संयुक्त बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी केन्द्रका नेता भरतप्रसाद साहले जानकारी दिनुभएको हो।
सहमतिमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर रहेको छ। सरकारमा यी ३ दलसँगै नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख गरिएको छ।
१ सय ७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका हुन् ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा रहनुभएको छ । यहि जेठ २१ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ।
मुख्यमन्त्री यादवले यहि जेठ २३ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको हो ।