बागमती प्रदेशमा नेवारी र तामाङ भाषा आजदेखि सरकारी प्रयोगमा, सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले सोमबार प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिक रुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा सोमबार प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो । यहि वैशाख १२ गतेको निर्णय अनुसार सोमबार बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।
काठमाडौंको वसन्तपुरमा सोमबार एक समारोहको आयोजना गरी प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै भाषा सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।