संघीय संसदका ६ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ ।
बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, महिला तथा सामाजिक मामिला समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहीबार बिहान साढे १० बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा १६ औं पञ्च वर्षीय योजनाको मुख्य विषयवस्तुहरु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि नेपाल सरकारको रणनीति तयार तथा दिगो विकास लक्ष्य कार्यान्वयनको भीएनआर प्रतिवेदन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको हो ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सिंहदरबारमा बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ । बैठकमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने भएको हो ।
त्यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा महालेखापरीक्षकसँग विविध विषयमा छलफल हुने भएको हो ।
त्यस्तै, महिला तथा समाजिक मामिला समितिको बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ । सोही बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका विषयमा छलफल हुने संसद सचिवालयले जनाएको हो ।