चितवनमा ४ वटा सवारी साधन एक-आपसमा ठोक्किंदा एक जनाको मृत्यु, २२ घाइते
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आइतबार राति ४ वटा सवारी साधन एक- आपसमा ठोक्किंएका छन् ।
सोही दुर्घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले बताएको हो । अन्य २२ जना घाइते भएका छन् । काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजे एक-आपसमा ठोक्किंएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
सोही दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । दुर्घटना पश्चात आइतबार राति सडक अवरुद्ध भएको प्रहरीले बताएको हो । सोमबार बिहानदेखि सवारी साधन दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको प्रहरी कार्यालय चितवनले जनाएको छ ।
१८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा र ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको हो ।