न्याय क्षेत्रमा काम गर्न अहिले धेरै सहज भएको छ: पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताउनुभएको छ ।
ललितपुरमा शनिबार लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ-नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायालय र न्याय क्षेत्रमा अहिले धेरै सुविधा भएको बताउनुभयो । न्याय क्षेत्रमा वकालत गर्न लाग्दा बाँसको कलमले लेख्ने, सबै सार्नुपर्ने अवस्था रहेको र त्यो बेलामा पनि शारदा श्रेष्ठसहितका न्यायाधीशहरुले महिलाहरुको हक हितका लागि काम गरेको उहाँले बताउनुभएको छ ।
सोही कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले काठमाडौंमा जन्मिएका र न्याय क्षेत्रको पैरवी गर्नेहरु काठमाडौं छोड्न राजी नहुने समयमा श्रेष्ठले काठमाडौं बाहिर जाने आँटले नै स्थापित व्यक्तित्व बनाएको बताउनुभयो । श्रेष्ठको जीवन सादगी र मायालु रहेको उहाँको भनाइ छ ।
त्यस्तै, सोही कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अहिले महिलाहरुले पहिलाको भन्दै धेरै अधिकार पाएको बताउनुभयो । उहाँले महिलाहरुले आफ्ना हक अधिकार पाउन शारदा श्रेष्ठ लगायतका पूर्वन्यायाधीशहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आयोगले पनि महिलाको हक अधिकार प्राप्त गर्न र दिन विभिन्न कामहरु गर्दै आइरहेको उहाँको भनाइ थियो ।
नेपालका प्रथम महिला न्यायाधीश एवं पुस्तकका लेखक शारदा श्रेष्ठले पुस्तक केही समयअघि नै लेखिसकिएको भएपनि केही कारणवश ढिला गरी विमोचन भएको बताउनुभयो। प्रधानन्यायाधीश विश्वम्भरप्रसद श्रेष्ठबाट सोही पुस्तक विमोचन हुनु अत्यन्तै सुखद र खुशीयाली भएको पनि बताउनुभएको छ ।
पुस्तकले न्याय क्षेत्रमा लाग्ने न्यायकर्मीहरुका लागि दिशा निर्देश गर्ने अपेक्षा राखेको लेखक श्रेष्ठले बताउनुभयो ।