चितवनको रत्ननगरमा अत्याधिक गर्मी बढेपछि आजदेखि विद्यालय बन्द
काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले गर्मी अत्याधिक बढेपछि विद्यालयमा गर्मी बिदा दिएको छ ।
अत्याधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगर अन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय ४ दिनसम्म बन्द गर्ने निर्णय गरेको हो । सोही नगरका शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यहि जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ ।
१३ गतेको नगरपालिका स्तरीय निर्णय अनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा र १९ गते शनिबार परेको छ । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको हो । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारण लगायतको जनजीवन कष्टकर बनेको छ ।
यसैबीच, अध्याधिक गर्मी बढेपछि नगरपालिकाले आईपीभी खोप अभियान समेत स्थगित गरेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेका अनुसार पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको छ ।
सोही अभियान २० गतेदेखि पुनः सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।